उच्च आर्थिक वृद्धिदर हासिल गर्न निर्यातमा जोडː विश्व बैंक |
काठमाडौं । दक्षिण एसियाले सन् २०१९ मा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको अध्ययनले देखाएको छ । आगामी वर्ष सन् २०२० र २०२१ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि यो क्षेत्रमा हासिल हुने विश्व बैंकले उल्लेख गरेको छ ।
विश्व बैंकले क्षेत्रीय आर्थिक प्रतिवेदनमार्फत यो क्षेत्रले उच्च दरको आर्थिक विकास हासिल गर्नका लागि निर्यातलाई प्रवद्र्धन गर्नुपर्ने पनि उल्लेख गरेको छ । क्षेत्रीय आर्थिक प्रतिवेदन प्रत्येक दुई∕ दुई वर्षमा सार्वजनिक हुन्छ । बहुपक्षीय दाताले यो क्षेत्रका देशहरु आन्तरिक बजारमा सिर्जित मागबाट चलिरहेको भन्दै उनीहरुले निर्यात व्यापार वृद्धि गरि व्यापार घाटा घटाउने र चालु खाता नोक्सानी कम गर्नुपर्ने उल्लेख गरेको छ ।
विश्व बैंकले दक्षिण एसियालाई तीव्र आर्थिक विकास भइरहेको क्षेत्रका रुपमा हेरिएको पनि प्रतिवदेनमा जनाएको छ । उसले यो क्षेत्रका देशमध्ये सन् २०१९ मा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धि हासिल हुने उल्लेख गरिएको छ । भारतले यो वर्ष ७.५ प्रतिशतको वृद्धि हासिल गर्ने उसले जनाएको छ । दोस्रोमा बंगलादेशले ७.३ प्रतिशत र तेस्रो स्थानमा रहेको नेपालले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने उसले जनाएको छ ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिमा पर्यटन तथा उत्पादन क्षेत्रको मुख्य योगदान रहेको पनि जनाएको छ । पर्यटन आवागमनसँगै सेवा क्षेत्रमा बलियो वृद्धि र देशकै ठुलो सिमेन्ट कारखाना गत वर्षबाट सञ्चालनमा आएसँगै उत्पादन क्षेत्रको वृद्धि बलियो देखिएको विश्व बैंकले भनेको छ ।