नेपालले लोकतन्त्र र मानवअधिकारको प्रवद्र्धन गरेको छː सभामुख महरा |
दोहा (कतार) । सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४० औं सभालाई सोमबार सम्बोधन गरेका छन् । आईपीयूको सभामा सभामुख महराले ‘संसद शान्तिका लागि शिक्षा, सुरक्षा र कानुनी शासन सुदृढ गर्ने मञ्च’ विषयमा केन्द्रित रहेर सम्बोधन गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार, समानता र कानुनी शासनको संरक्षण र प्रवद्र्धन गर्दै आएको उल्लेख गरे ।
सम्बोधनका क्रममा सभामुख महराले शान्ति स्थापना र प्रजातान्त्रिक परिवर्तनमा आईपीयूले खेलेको भूमिकाको प्रशंसा गरे । ‘राजनीतिक अन्तरक्रिया र ठोस कार्यमार्फत शान्ति स्थापना र सकारात्मक प्रजातान्त्रिक परिवर्तनको लागि अन्तर–व्यवस्थापिका संघले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु ,’ उनले भने ।
राजनीतिक नेतृत्व र विधायकहरुले आफ्ना देशका विशिष्ट आवश्यकता र विकासको अवस्थालाई ध्यान दिँदै उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिदै सभामुख महराले सकारात्मक परिवर्तनतर्फ जनप्रतिनिधिहरुको संस्थाको रुपमा रहेको संसदले भूमिका खल्ने बताए ।
‘जनताको प्रतिनिधिको रुपमा संसदले कानून निर्माण, बजेटरी नियन्त्रण र सरकारका नीति तथा कार्यक्रमको निरीक्षणमार्फत सकारात्मक परिवर्तन स्थापित गर्न सक्छ,’ सभामुख महराले भने , ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरुले देशका विशिष्ट आवश्यकताहरुलाई ध्यान दिई नीति निर्माण गर्नुपर्दछ ।’
नेपालले विद्यालयलाई शान्ति क्षेत्रको रुपमा पहिचान गरेको भन्दै सभामुख महराले द्वन्द्व र संकटको समयमा बालबालिकाको शिक्षाको अधिकार कुण्ठित हुनबाट जोगाउने प्रयास गरिएको बताए । नेपालले सन् २०३० सम्ममा आम नागरिकको न्यून आयबाट मध्यम आयमा रुपान्तरण गर्ने लक्ष्यमा शिक्षालाई प्राथमिकता दिइएको सभामुख महराले बताए ।
आईपीयूको सभामा गरिएको छलफलले शान्ति र सुरक्षासहितको समतामूलक र न्यायिक समाज निर्माणमा जनप्रतिनिधिहरुको योगदान थप स्पष्ट हुनेमा उनले विश्वास व्यक्त गरे । चैत २३ गतेदेखि शुरु भएको आईपीयूको १४० औं सभामा एक १६७ देशका १ हजार ६ सय प्रतिनिधिहरु सहभागी भएका छन् ।
दोहास्थित सेराटन होटलमा जारी सभामा विभिन्न अलग–अलग शेसनमा सभामुख, अध्यक्ष तथा सांसदहरुले विविध विषयमा छलफल गरिरहेका छन् ।