ह्वावेको पी ३० सिरिज अन्तर्गतका तीन नयाँ सेट बजारमा, फाइनान्सको सुविधा |
काठमाडौं । ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ । ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरिएको हो ।
नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको विक्री चैत्र २९ बाट सुरू हुँदैछ । ह्वावे पी ३० प्रोको मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ । ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबारसम्म गर्न सकिनेछ ।
ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ ।
ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ ।