लोडसेडिङ गराउनेहरु पुनː सक्रिय भएका छन् ː कुलमान घिसिङ |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पुनː लोडसेडिङ ब्युँताउने खेल शुरु भएको बताएका छन् । घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको बताए ।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको आरोप लगाए । ‘हिजोको जस्तै प्राधिकरणमा खेलो गर्न खोज्नेहरु सक्रिय छन्’, उनले भने, ‘हामीसँग हिजो कसरी लोडसेडिङ गराए भन्ने प्रमाण पनि छ ।’
विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको भन्दै उनले प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर आफ्नो छवि धमिल्याउने प्रयास भैरहेको बताए । उनले विगतमा प्राधिकरण डुबाएका व्यक्तिले सहज रुपमा आफूलाई काम गर्न नदिइरहेको आरोप लगाए । ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई काम गर्न डिस्टर्ब गरेका छन्’, उनले भने, ‘उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन ।’
प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उनले असन्तुष्टि जनाए । गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको थियो । पत्रकार सम्मेलन गरेका घिसिङले गलाअवरुद्ध पार्दै भने, ‘मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो ।’
वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले प्रष्टाए । उनले भने, ‘सरकारले प्रोत्साहन स्वरूप २४ लाख दिएको हो, त्यो बाहेक मैले करबाहेक ६ लाख भत्ता बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छु ।’
आफूविरुद्ध प्राधिकरणभित्रकै केही कर्मचारीको लागिपरेको उनको दाबी छ । आफ्नो काम नागरिकले मुल्यांकन गरिरहेको भन्दै उनले प्राधिकरण नाफामा गएको कसैकसैलाई नपचेको बताए । प्राधिकरणलाई ध्वस्त पार्ने गिरोहलाई नछोडिने घिसिङको भनाई थियो ।