असारमा अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने, धितोपत्र बोर्ड ओइसिडीको पूर्णकालिन सदस्य |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलनको आयोजना गर्ने भएको छ । असार १७ र १८ गते वित्तीय शिक्षा र विकासशील देशहरुमा वित्तीय उपभोक्ता संरक्षण विषयक प्रथम अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
नेपालमा वित्तीय साक्षरता न्यून रहेकोले वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमको समन्वय गर्नका लागि उपयुक्त वातावरण तयार हुने बोर्डले जनाएको छ । ओइसिडी (अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट) ले सन् २००८ मा वित्तीय साक्षरताको कार्यक्रमका लागि आईएनएफईको स्थापना गरेको थियो । हाल यस संस्थामा विश्वका ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य रहेका छन् ।
नेपाल धितोपत्र बोर्ड ओइसिडी अन्तर्गतको इन्टरनेशनल नेटवर्क अफ फाइनान्सियल एजुकेसन (आईएनएफई) को पुर्णकालिन सदस्य भएको छ । बोर्डले विश्वव्यापी रुपमा वित्तीय साक्षरता सम्बन्धी कार्य गर्ने गरि स्थापना भएको संस्थाको सदस्यता लिएको हो ।
उक्त संस्थामा सदस्यता प्राप्त गरेसँगै बोर्डले आगामी असारमा दुई दिन अन्तरराष्ट्रिय स्तरको वित्तीय साक्षरता सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा दक्षिण एशियाली मुलुक सहित विश्वका अन्य विभिन्न मुलुकका करिव एक सय जना भन्दा बढि प्रतिनिधि सहभागि हुने बोर्डले जानकारी दिएको छ ।