अब मेरो शेयर वेवपेजमा प्राथमिक बजारमा निष्कासन हुने शेयर सहितको विवरणपत्र |
काठमाडौँ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले मेरो शेयरका प्रयोगकर्तालाई सहज गर्न प्राथमिक बजारमा निष्कासन हुने शेयरका विवरणपत्र अनलाइनबाटै हेरर आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । पछिल्लो पटक त्रिशूली थ्री बी आयोजनाबाटै यस्तो सेवाको प्रारम्भ गरिएको प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए ।
सीडीएससीले सर्वसाधारणकालागि निष्कासन हुने जुनसुकै प्रकारका शेयरको अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था यसअघि नै गरिसकेको छ । बजारमा निष्कासन भएको प्राथमिक शेयर, हकप्रद ,ऋणपत्र लगायतका शेयरमा मेरो शेयर वेवसाइट मार्फत आवेदन गर्न सकिन्छ । पछिल्लो समय निष्कासित शेयरमा ५० प्रतिशत भन्दा बढी लगानीकर्ता मेरो शेयर मार्फत आवेदन दिने गरेको न्यौपानेले जानकारी दिए ।
लगानीकर्ताले मेरो शेयरको सुविधा निक्षेप सदस्य मार्फत लिन सक्छन् । सीडीएससीले तोकेको फारम र शुल्क तिरेर उक्त सुविधा लिन सकिने न्यौपानेले बताए । यो सुविधा लिएपछि लगानीकर्ताले शेयरमा आवेदन दिन, दोस्रो बजारमा खरिद विक्री गरेको शेयर अर्काको खातामा अनलाइनमै पठाउन, आफ्नो पोर्टफोलियो हेर्न सक्ने लगायतका थुप्रै सुविधा पाउने न्यौपानेले बताए ।