वैकल्पिक उर्जाको क्षेत्रमा जर्मनले सहयोग गर्ने, उर्जामन्त्री र जर्मन राजदूतबीच भेट |
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागी जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्विपक्षिय हितको विषयमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री पुनले जर्मनीले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अव कार्यान्वयन प्रक्रियाको थालनी चांडै हुने बताए । मन्त्री पुनले स्मार्ट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा रहेको जानकारी दिए । ‘स्मार्ट मिटर र स्माट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भुमिगत केवलिङको काम समेत शुरु भइसकेको छ ।’ मन्त्री पुनले भने ।
भेटमा नेपालको विभिन्न क्षेत्रमा जर्मनीले गरेको सहयोगप्रती धन्यवाद दिंदै उनले आगामी दिनमा पनि द्विपक्षिय सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे । भेटमा जर्मन राजदूत सेफरले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक रहेको धारणा राखे । उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा समेत चांसो व्यक्त गर्दै जर्मनी र यसमा सहयोग गर्न तयार आतुर रहेको बताए । राजदूत सेफरले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको भन्दै अव कार्यान्वयनको पाटोमा जोड दिनुपर्ने उल्लेख गरे ।