साझाले थप्यो २० नयाँ शहरी बस, रक्सौलमा आईपुगे बस |
काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौता बमोजिम छिमेकी भारतबाट ती बसहरु ल्याएको हो ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको सेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद गरेको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले बताए । उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही दिन भित्रै काठमाडौं आईपुग्ने छ ।’ बस काठमाडौं आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने पाण्डेले बताए ।
काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेका छन् । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण २ दशकसम्म साझाका सेवा ठप्प भयो ।
विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुन सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरिद गरी सेवा प्रदान गर्दै आईरहेको छ ।
साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ । साथै साझाले काठमाडौं देखि बागलुङ र काठमाडौं देखि कुश्मासम्मको लामो दूरीका दुई बस समेत सञ्चालन गरिरहेको छ ।