चार लघुवित्तको आईपीओ आउँदै | एउटाले अनुमति पाइसक्यो, बाँकी तीनवटाले बोर्डमा दिए निवेदन
काठमाडौं । लघुवित्तहरूको साधारण शेयर (आईपीओ) मा पछिल्लो समय राम्रो मुनाफा पाइरहेकै समयमा फेरि चारवटा लघुवित्त वित्तीय संस्थाहरूले झण्डै साढे १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, जनसेवी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले उक्त परिमाणको आईपीओ जारी गर्न लागेका हुन् ।
यी चारवटै संस्थामध्ये गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाइसकेको छ भने बाँकी तीनवटा संस्थाले पनि आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिइसकेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । त्यसैगरी, जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ६३ हजार ३ सय कित्ता, गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार कित्ता र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएका दिइसकेका छन् ।
बोर्डबाट स्वीकृति पाउनासाथ यी तीनवटै संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछन् ।
थोरै परिमाणमा आईपीओ आए पनि राम्रो मुनाफा दिने भएकाले पछिल्लो समय लगानीकर्ताहरूको आकर्षण लघुवित्त वित्तीय संस्थाहरूको आईपीओमा मात्र बढ्दो छ । हाल ‘क’ वर्गका वाणिज्य बैंकहरूको भन्दा पनि लघुवित्तको शेयरमूल्य बढी हुनाले सर्वसाधारणको रोजाइमा वाणिज्य बैंकभन्दा पनि लघुवित्त परिरहेको छ ।