गुराँस लाइफको लाभांश पारित, सतप्रतिशत हकप्रद शेयर ल्याउदै |
काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७३∕७४ को मुनाफाबाट प्रस्तावित लाभांश पारित गरेको हो ।
कम्पनीको बिहीबार सम्पन्न नवौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापूँजी ५९ करोड ४० लाख रुपैयाँको आधारमा ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
यस कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत हकप्रद यहि चैत २८ गतेदेखि जारी गर्दैछ । सभाले ५० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।
८ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्तापूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ पुगेको छ । बोनस पश्चात कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रदलाई समेत जोड्दा कम्पनीको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ हुनेछ ।
सभाको निर्णय अनुसार कम्पनीले यहि पूँजीको आधारमा शतप्रतिशत हकप्रद जारी गर्नेछ । शतप्रतिशत हकप्रद पश्चात भने कम्पनीको पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
बीमा समितिको निर्देशन अनुसार कम्पनीले २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्नेछ । कम्पनीलाई सो बमोजिम पुँजी पुर्याउन थप १२ करोड २९ लाख ६० हजार रुपैयाँ आवश्यक देखिन्छ । गत वर्षको मुनाफाबाट कम्पनीले बोनस शेयर मार्फत पूँजी पुर्याउने योजना छ ।