एयरपोर्टबाट फेरि ६ किलोभन्दा बढी सुनसहित पाँच जना पक्राउ |

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फेरि सुनसहित पाँच जना पक्राउ परेका छन् । थाई एयरवेजबाट बैंककहुँदै काठमाडौं आएका पाँच जना यात्रु ६ किलोभन्दा बढी सुनसहित पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दीप भण्डारीले पक्राउ परेका सबै भारतीय नागरिक रहेको बताए । उनले भने, ‘पक्राउ परेका सबै नागरिक भारतीय हुन्, उनीहरूले ल्याएको उक्त सुनजस्तो देखिने वस्तु गहनाको रूपमा ल्याएका हुन् । हाल उक्त वस्तु सुन भएकोनभएको पत्ता लगाउनका लागि परीक्षणका लागि पठाइएको छ ।’
उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।