नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत रहने, एडीबीले गर्यो प्रक्षेपण |
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंक (एडीबी) ले गरेको प्रक्षेपणमा सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने बताइएको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.२ र २०७६∕७७ मा ६.३ प्रतिशतले वृद्धि हुने एडीबीको पछिल्लो प्रतिवेदन म्याक्रोइकोनोमिक अपडेटले देखाएको छ ।
सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख छ, जसलाई भूकम्प पछिको तीव्र पुनːनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले मद्दत पुर्याएको नेपालका लागि एडीबीका आवासीय निर्देशक मुख्तोर खामुद्खानोभले बताए ।
वित्तीय संघीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसके, वित्तीय अनुशासन पालना नभएमा भने यसमा असर पर्ने एडीबीको विश्लेषण छ । कृषि क्षेत्रको वृद्धि ४.५ प्रतिशत पुग्न सक्ने उनको अनुमान छ । जुन गत आर्थिक वर्षमा २.८ प्रतिशत थियो । यो आँकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।
सुदृढ विद्युत आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान छ । थोक तथा खुद्राव्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सलगायतकासेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने सम्भावना रहेको एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा उल्लेख छ ।