जनताको जलविद्युतमा समावेश भए रसुवागढी हाईड्रोपावर र साञ्जेन जलविद्युत कम्पनी |
काठमाडौं । सरकारले जनताको जलविद्युत कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत आयोजनालाई समावेश गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर विक्री गर्ने निर्णय गरेको हो ।
बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर विक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलाई साधारण शेयर विक्री गरिसकेको ती दुई कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर विक्री गर्ने तयारी गरिरहेका छन् ।
दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आम सर्वसाधारणलाई शेयर विक्रीको अनुमति पाइसकेका छन् । बोर्डले रसुवागढी हाईड्रोपावर लिमिटेडलाई एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता र साञ्जेन जलविद्युत कम्पनीलाई ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर विक्रीको अनुमति यही चैत १० गते स्वीकृती दिएको हो ।
जनताको जलविद्युत कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले सो कार्यक्रममा दुई आयोजना थप भएको जानकारी दिए । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।
रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कूल १९ वटा आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वस्पूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको शेयर विक्री भई बाँडफाँड भइसकेको छ ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर विक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर विक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन ।