मल्टिपल डिम्याट खाताको व्यवस्था गर्दै नेप्से, एउटै लगानीकर्ताले चाहेजति डिम्याट खाता खोल्न पाउने |
काठमाडौं । अनलाइन प्रणालीबाट शेयर कारोबार गर्दा मल्टिपल डिम्याट खाता प्रयोग गर्न पाइने व्यवस्था गरिन लागेको छ । अनलाइन प्रणाली प्रयोगकर्ता नबढेपछि नेपाल स्टक एक्सेन्ज (नेप्से) ले एउटै लगानीकर्ताले आफुले चाहेजति डिम्याट खाता खोल्न पाउने व्यवस्थाका लागि नेपाल धितोपत्र बोर्डमा पहल गरेको छ ।
एक जना व्यक्तीले जुन सुकै बैंकमा खाता खाल्न पाउने व्यवस्था जस्तै डिम्याट खाता पनि खोल्ने व्यवस्था गर्न लागिएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
अनलाइन प्रणालीबाट युसीसी (युनिक क्लाइण्ट कोड) जेनेरेट हुने व्यवस्थाले गर्दा एउटा व्यक्तीले जति सुकै डिम्याट खाता खोले पनि व्यक्ती पहिचाहन हुन सक्ने भन्दै मल्टिपल डिम्याट खाता खोल्ने व्यवस्था गर्न बोर्डलाई दुई पटक पत्राचार गरि सकिएको छ ।
एउटै व्यक्तीले धेरै वटा डिम्याट खाता खोलेर जति पनि आवदेन दिन थाले पछि बोर्डले नियन्त्रणको लागि एक व्यक्तीले दुई वटा भन्दा धेरै डिम्याट खाता खोल्न नपाउने व्यवस्था गरेको थियो । तर अहिलेको अनलाइन प्रणालीले युसीसी जेनेरेट गरे सँगै एउटा व्यक्तीले जति वटा डिम्याट खाता खोले पनि सम्बन्धित व्यक्ती पहिचाहन गर्न सकिने हुँदा यस्तो व्यवस्था हटाउन नेप्सेले पहल गरेको हो ।
नेप्सेले यसका लागि बोर्ड सँग अनौपचारिक छलफल गरिसकेको छ । बोर्ड यस विषयमा सकारात्मक देखिए पछि नेप्सेले सञ्चालक समितिबाटै पास गरेर उक्त प्रस्ताव बोर्डमा प्रस्तुत गरेको हो ।
नेपाल धितोपत्र बोर्डले मल्टिपल डिम्याट खाता खोल्न पाउने व्यवस्था गरे पनि एउटा डिम्याटको प्रयोग एउटा ब्रोकर कार्यालयमा मात्रै प्रयोग गर्न सकिनेछ । तर जति पनि डिम्याट खाता खोल्न पाउने व्यवस्था भएमा आफुले चाहेको ब्रोकर कार्यालय मार्फत शेयर खरिद विक्री गर्न पाइनेछ ।
लगानीकर्ताका संघ तथा दवाव समुहले पनि मल्टिपल डिम्याट खाता खोल्न पाउनु पर्ने भन्दै माग राख्दै आएका छन् । नेप्सेका अनुसार अनलाइन प्रणालीबाट दैनिक औषत कारोबार ३४ करोड रुपैयाँको हुने गरेको छ । हाल अनलाइन प्रयोगकर्ता जम्मा ३५ सय ५७ जनामा मात्रै पुगेका छन् ।
अनलाइन प्रयोगकर्ताले हालसम्म २ अर्ब ५२ करोड रुपैयाँको कारोबार गरेका छन् । तर दैनिक कारोबारमा सक्रिय लगानीकर्ता भने जम्मा ५ सय ९६ जना मात्रै रहेका छन् ।