हावाहुरीले प्राधिकरणलाई करिब रू. १५ करोड क्षति, झण्डै दुई हजार पोल ढले | रक्सौल–परवानीपुर प्रसारणलाइन ठप्प
काठमाडौं । हिजो आइतवार राति आएको हावा हुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रू. १५ करोडबराबरको क्षति भएको छ । बारा र पर्सामा आएको हुरीबतासका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा उक्त रकमबराबरको क्षति भएको हो ।
प्राधिकरणका अनुसार हावाहुरीका कारण ठाउँठाउँमा पोल ढलेको र प्रसारणलाइनसमेत क्षतिग्रस्त भएको छ । परवानीपुर–वीरगञ्ज ६६ केभी डब्बल सर्किट लाइनमा क्षति पुग्दा विद्युत आपूर्ति नै बन्द भएको छ । त्यस्तै, वीरगंज–कलैया ३३ केभी प्रसारण लाइन पनि क्षतिग्रस्त भएको छ ।
त्यस्तै, भारतबाट आयात गरिने १३२ केभी क्षमताको रक्सौल–परवानीपुर प्रसारण लाइन तथा ३३ केभीको रक्सौल–वीरगंज प्रसारण लाइन क्षतिग्रस्त भएको छ । सो प्रसारण लाइनबाट हुने विद्युत आपूर्ति ठप्प भएको छ । प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरू ढल्नुका साथै तारहरू पनि विभिन्न स्थानमा चुँडिएका छन् ।’
कलैयास्थित प्राधिकरणको सबस्टेशनबाट आइतबार बेलुका नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा भने विद्युत आपूर्ति सुचारु गराइएको प्राधिकरणले बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइसकेको छैन । प्रारम्भिक तथ्यांकअनुसार करिब २ हजार पोल र कैयौं ट्रान्सफर्मरमा क्षति पुग्दा झण्डै १५ करोडबराबरको क्षति भएको छ ।’ हावाहुरीका कारण भएको क्षति र विद्युत आपूर्ति बन्द हुँदा परेको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ । साथै जतिसक्दो छिटो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सुचारु गराउने काम शुरू भइसकेको प्राधिकरणले बताएको छ ।