नेप्सेमा भोलीदेखि नयाँ सर्किट ब्रेकर प्रणाली लागू हुने |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चैत १९ गते मंगलबारदेखि नयाँ सर्किट ब्रेकर प्रणाली लागू गर्ने भएको छ । नेप्से सूचकांक बढ्दा र घट्दा लाग्ने हालको सर्किट ब्रेकरको व्यवस्थालाई नेप्सेले परितर्वन गर्न लागेको हो ।
सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन आवश्यक देखिएको भन्दै उच्चस्तरीय सरकारी सुझाव समितिले सर्किट ब्रेकरको व्यवस्थालाई तत्काल परिवर्तन गर्न बोर्ड र नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम बोर्डको स्वीकृतिमा नेप्सेले सर्किट ब्रेक प्रणाली परिवर्तन गर्न लागेको हो ।
अहिलेको सर्किट ब्रेकर प्रणालीमा भएको व्यवस्थाअनुसार कारोबार खुलेको पहिलो १ घण्टामा ३ प्रतिशत परिवर्तन भएमा १५ मिनेटका लागि कारोबार स्थगित गर्ने, यसरी स्थगित भएको कारोबार पुनː खुलेपछि उक्त परिसूचकमा ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोबार स्थगित गर्ने । उक्त स्थगनपछि कारोबार पुनː खुले पनि परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन वाँकी समयको पूरै कारोबार स्थगित हुन्छ ।
नेप्सेले हालको व्यवस्थामा कारोबारको समयलाई यथावत राखी १ घण्टामा ४ प्रतिशत परिवर्तन भएमा १५ मिनेटका लागि कारोबार स्थगित गर्ने, स्थगित कारोबार पुनː खुलेपछि ५ प्रतिशत परिवर्तन भएमा ३० मिनेटका लागि कारोबार स्थगित गर्ने र स्थगितपछि खुलेको कारोबारमा ६ प्रतिशत परिवर्तन भएमा उक्त दिन वाँकी समयको पूरै कारोबार स्थगित हुने व्यवस्था लागू गर्न लागेको हो ।
नेप्सेले अन्तरराष्ट्रिय अभ्यासलाई समेत अध्ययन गरेर सर्किट ब्रेक प्रणालीमा नयाँ व्यवस्था लागू गर्न लागेको जानकारी दिएको छ ।