चौधरी ग्रुपले करिब एक खर्बका ४ आयोजनामा लगानी गर्ने, सौर्य उर्जामा अमेरिकी लगानी भित्र्याउने |
काठमाडौं । चौधरी ग्रुपले करिब एक खर्ब रुपैयाँका ४ वटा आयोजनामा लगानी गर्ने समझदारी गरेको छ । ग्रुपले लजिस्टिक पार्क, सोलार र दूरसञ्चार क्षेत्रमा लगानी गर्न समझदारी गरेको हो ।
चौधरी ग्रुपले सर्राफ ग्रुपसँग मल्टी मोडल लजिस्टिक पार्कका लागि करिब १० अर्बको समझदारी गरेको छ । स्काई पावरसँगको सहकार्यमा चौधरी ग्रुपले नेपालमा ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाका लागि सम्झौता गरेको छ । उक्त आयोजनाको अनुमानित लागत करिब ५० अर्ब छ ।
चौधरी ग्रुअन्तर्गतको सीजी लाइफसेल र टर्कसेलबीच नेपालमा फाइभजी मोबाइल नेटवर्क विस्तारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसको लागत करिब २५ अर्ब हुने चौधरी ग्रुपले जानकारी दिएको छ ।
यस्तै, ग्रुप अन्तर्गतको सीजी इन्फ्रास्ट्रक्चर र प्रदेश २ सरकारबीच २ सय मेगावाट सोलार प्लान्ट स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्लान्ट स्थापनाका लागि १२ अर्ब लाग्ने अनुमान छ । ‘सबै गरेर करिब एक खर्ब लगानी गर्दैछौं,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।
चौधरी ग्रुपसँग नेपालमा सौर्य आयोजना निर्माणका लागि समझदारी गरेको क्यानडाका स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी उड्लरले सोलारको प्यानल नेपालमै एसेम्बल गर्ने गरी प्लान्ट स्थापना गर्ने बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ ।
लगानी सम्मेलनको दोस्रो दिन उक्त रकम नेपाल सरकारको प्राथमिकताका आयोजनामा लगानी गर्ने प्रतिबद्धतासहितको समझदारी भएको हो ।