बारा–पर्सामा हावाहुरीको तान्डव, मृतकको संख्या ३१ पुग्यो | उद्वार जारी, रगत र बेडको अभाव
काठमाडौं । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले बताएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।
तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।
सेनाको स्वास्थ्य टोली र रक्तदान
नेपाली सेनाको बारामा रहेको बाहिनीबाट घटनालगत्तै ‘सर्च एन्ड रेस्क्यू’ मा टोली खटिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार सेनाको टोलीले अहिले ‘रोड ब्लक’ हटाउने कार्यमा पनि खटिएको छ ।
स्वास्थ्य उपचारका लागि बाहिनीकै चिकित्सकहरुको टोली खटिएको छ । हाल बाहिनीका ८ जना चिकित्सक घाइतेको उपचारका लागि खटिएका छन् ।
हाल सैनिक अधिकारीहरुले त्यहाँ विरामीको उपचारका लागि आवश्यक पर्न सक्ने भएकाले रक्तदान शिविरको पनि आयोजना गरिरहेका छन् । आवश्यकता भए अनुसार थप चिकित्सकको टोली पनि बारा पठाउने तयारी जङ्गी अड्डाको छ ।