युनियन हाइड्रोपावरको आईपीओमा मागे जति आवेदन परेन, वैशाख १२ गतेसम्म समय थपियो |
काठमाडौं । आवश्यक आवेदन नपरेपछि युनियन हाइड्रोपावर कम्पनीको आईपीओ वैशाख १२ गतेसम्म विक्री खुल्ला हुने भएको छ । चैत १३ गतेदेखि आईपीओ विक्री खुल्ला गरेको कम्पनीको छिटो बन्द हुने मिति चैत १७ गतेसम्म तोकिएको थियो ।
कम्पनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार आइतबार २ बजेसम्म २९ हजार १२४ जना आवेदकले २३ करोड ५० लाख बराबरको २३ लाख ५० हजार कित्ताको लागि आवेदन दिएका छन् ।
सर्वसाधारण लगानीकर्ताबाट तोके बमोजिम आवेदन नपरे पछि सोमबारदेखि संस्थागत लगानीकर्ताका लागि समेत खुला गरिने छ । कम्पनीले कुल ३५ लाख ३४ हजार ३४० कित्तामध्ये ७० हजार ६८६ कित्ता कर्मचारीलाई सुरक्षित गरी वाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।
यसअघि कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयका लागि ७ करोड ५० लाख रूपैयाँ बराबरको शेयर विक्री खुल्ला गरेको थियो । त्यस अवधिमा स्थानीयको तर्फबाट १ लाख २८ हजार २१९ कित्ताको लागि मात्र आवेदन परेको थियो ।
कम्पनीले स्थानीयलाई विक्री गर्न नसकेको ६ लाख २१ हजार ७९० कित्ता समेत थप गरी सर्वसाधारणलाई शेयर जारी गरको हो । शेयर खरिद गर्दा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधार जनाउने ग्रेड पाँच रेटिङ प्रदान गरेको छ । यस कम्पनीले लमजुङ जिल्लामा ३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ ।