शिवम् सिमेन्टको तेस्रो वार्षिक साधारणसभा वैशाख ९ गते | सभाले १५.७८ प्रतिशत लाभांश पारित गर्ने र सर्वसाधारण समूहबाट एक सञ्चालक निर्वाचित गर्ने
काठमाडौं । गत महिना मात्रै साधारण शेयर विक्री गरेको शिवम् सिमेन्टले आगामी वैशाख ९ गते तेस्रो वार्षिक साधारणसभा डाकेको छ । उक्त साधारणसभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५.७८ प्रतिशत लाभांश दिन गरेको प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले सर्वसाधारण समूहबाट एकजना सञ्चालक पनि निर्वाचित गर्नेछ । सर्वसाधारण समूहबाट निर्वाचित सञ्चालकको कार्यकाल चार वर्षको हुनेछ । सभामा गत आर्थिक वर्षको लेखापरीक्षण तथा वित्तीय विवरणमाथि छलफल गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।
सञ्चालक समितिले साधारणसभामा भविष्यमा कम्पनीको क्षमता बढाउनेदेखि लिएर उही प्रकृतिका उद्योग प्राप्ति गर्ने विषयमा पनि छलफल गर्ने प्रस्ताव अगाडि सारेको छ । यदि छलफलबाट उक्त प्रस्ताव अनुमोदन भएमा आवश्यक काम कारबाही तथा पूँजी जुटाउनेदेखि लिएर कर्जा व्यवस्थापनको जिम्मासमेत सञ्चालक समितिलाई दिने प्रस्ताव गरिएको छ ।
साधारणसभामा भाग लिन वैशाख ७ गते बिहान ११ बजेभित्र दर्ता भइसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।