लगानी सम्मेलन : प्रस्तुत ७७ योजनामध्ये १६ वटामा एमओयू, १७ वटामा प्रस्ताव |
काठमाडौं । काठमाडौंमा आयोजित ‘नेपाल लगानी सम्मेलन २०१९’ बहुप्रतीक्षित ९ सय मेगावटको अरुण तेस्रोसहित १६ वटा परियोजनाको एमओयूमा हस्ताक्षर गर्दै हिजो शनिवार समापन भएको छ । यो सम्मेलन सफलतापूर्वक सम्पन्न भएको अर्थमन्त्री युवराज खतिवडाले दाबी पनि गरेका छन् ।
नेपाल र अन्य ४० देशका गरी करिब १३ सय जना स्वदेशी तथा विदेशी लगानीकर्ताले सहभागी जनाएको सम्मेलनमा नेपालको तर्फबाट सरकारी तथा निजीक्षेत्रले प्रस्तुत गरेको ७७ वटा परियोजनामा विदेशी लगानीकर्तालाई ब्रिफिङ गरिएको थियो । त्यसमध्ये अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय स्टेड बैंक अफ इण्डिया, नेपाली एभरेष्ट बैंक र नबिल बैंकले लगानी गर्न सहमति भएका छन् । उक्त आयोजनामा भारतीय स्टेट बैंकले साढे ६५ अर्ब, एभरेष्ट बैंकले ८ अर्ब १२ करोड र नबिल बैंकले ४ अर्ब ८७ करोड रुपैयाँ लगानी गर्ने सहमति गरेका छन् ।
त्यसैगरी, गैरआवासीय नेपाली संघ र सरकारबीच १० अर्ब लगानी गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ । उक्त लगानी पूर्वाधार, कृषि, जलविद्युत, शेयरबजार, पर्यटनलगायत क्षेत्रमा गर्ने गरी हस्ताक्षर भएको लगानी बोर्डले बताएको छ । सो प्रतिवद्धतापत्रमा सरकार र संघका अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी, चर्चित व्यवसायी तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले लगानीसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उनले मल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुप, ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर, फाइभजी टेलिकम सेवाका लागि टेलिसेल र सोलार पावरका लागि प्रदेश २ सरकारसँग समझदारी गरेका हुन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार यो सम्मेलनमा १६ वटा परियोजनामा एमओयु र १७ परियोजनामा लिखित प्रस्ताव आएका छन् । लगानीकर्ताहरूले पूर्वाधार तथा यातायात क्षेत्रमा ७, ऊर्जामा ४, कृषिमा ३, शिक्षा तथा स्वास्थ्यमा २ र लजिस्टिकमा १ कम्पनीले इच्छा देखाएका हुन् ।