कृषि विकास बैंकको २१ प्रतिशत लाभांश पारित |
काठमाडौं । कृषि विकास बैंक लिमिटेड आज शुक्रवार बसेको १२औं वार्षिक साधारणसभाले प्रस्तावित २१.०५३ प्रतिशत लाभांश पारित गरेको छ । सभाले शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस र १५.०५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।
साथै, सभाले बैंकको सञ्चालक समितिमा समूह (ख) सर्वसाधारण शेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक पनि निर्वाचित गरेको छ । सञ्चालकमा निर्वाचित हुनेमा सञ्जीव पौडेल, हरिप्रसाद पराजुली र विनोदकुमार गुरागाईं रहेको बैंकले जानकारी गराएको छ ।
नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी अधिकृत पूँजी भएको बैंकले हाल २७१ वटा शाखाहरूबाट आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।