एक्सेल डेभेलपमेण्ट बैंकको लाभांश पारित, ५५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय |
काठमाडौं । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभेलपमेण्ट बैंकको तेह्रौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सभाले ५५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।
चैत ११ गते सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४∕७५ को मुनाफाबाट ११ करोड ७७ लाख ५४ हजार ५७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।
यसैगरि सभाले ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५ प्रतिशतका दरले ३८ करोड ९ लाख ७० हजार ६८६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेर पूँजीवृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभापछि बसेको पहिलो बैठकले सञ्चालक समिति सदस्य महेन्द्र कुमार गोयललाई सर्वसम्मत रुपले अध्यक्ष चयन गरेको छ । यस्तै हेमराज ढकाल र राजन शर्मा पनि संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि सञ्चालकमा चयन भएका छन् ।
झापा, मोरङ्ग र इलामका विभिन्न भागमा गरी ३० वटा शाखा रहेको बैंकले हालसम्म ५ अर्ब ६५ करोड कर्जा प्रवाह र छ अर्ब ३७ करोड निक्षेप संकलन गरेको छ । बैकले राष्ट्र बैंकको अनुमति लिएर प्रदेश नम्बर १ का सबै जिल्लामा सेवा प्रदान गर्ने तयारी थालेको छ ।