सरकारले बिहीबार प्रि–लगानी सम्मेलनको आयोजना गर्दै |
काठमाडौं । लगानी सम्मेलनको तयारी स्वरुप सरकारले बिहीबार प्रि–लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी स्वरुपमा सरकारले प्रि–लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।
बिहीबार सीमित लगानीकर्ताको सहभागितामा प्रि–लगानी सम्मेलन आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । सम्मेलनका बारेमा जानकारी दिन बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रि–लगानी सम्मेलनले लगानी सम्मेलन सम्पन्न गर्न थप मद्दत पुग्ने बताए । सम्मेलनमा ७७ वटा परियोजना राख्ने तय भएको छ ।
यसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रले राख्नेछन् । यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी हुनेछ ।
सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिने भएको छ ।