सञ्चालन खर्च कम हुँदा ग्यास उद्योग धराशयी भए : ग्यास उद्योगी |
काठमाडौं । ग्यास उद्योगीहरूले पछिल्लो ६ वर्षसम्म पनि सरकारले सञ्चालन खर्च वृद्धि नगर्दा उद्योग चलाउन निकै गाह«ो भएको भन्दै गुनासो गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघले हिजो मंगलवार राजधानीमा आयोजना गरेको कार्यक्रममा ग्यासका उद्योगी व्यवसायीहरूले उद्योग सञ्चालनका लागि आवश्यक अन्य खर्च बढेको भए पनि समयानुकूल सञ्चालन खर्च वृद्धि नहुँदा व्यवसाय नै धराशयी भएको बताएका हुन् ।
सो अवसरमा संघका अध्यक्ष गोकुल भण्डारीले ग्यासमा सरकारको तर्फबाट प्रतिलिसिलिण्डर २३२ रुपैयाँ ५० पैसा अनुदान छुट्याएको भए पनि उद्योगको सञ्चालन खर्च प्रतिसिलिण्डर ५२ रुपैयाँ ५४ पैसा मात्र दिइनु निकै कम भएको बताए । उनले भने, ‘६ वर्षअघि तोकिएको सञ्चालन खर्चले अहिले उद्योग चलाउन निकै कठिन भएको छ । यस अवधिमा उद्योगको सञ्चालन खर्च ठूलो दरले वृद्धि भएकाले खर्च समयानुकूल वृद्धि गरिनुपर्छ ।’
सरकारले सञ्चालन खर्च समायोजन गरे उद्योगी प्रतिसिलिण्डर ३० रुपैयाँ ५५ पैसा मुनाफा लिन तयार रहेको उनको भनाइ थियो । हाल सरकारले भारतको रिफाइनरीबाट उद्योगसम्मको ढुवानी खर्च रू. ८७, उद्योगबाट विक्रेतासम्मको ढुवानी खर्च रू. २९, उद्योगीको मुनाफा रू. ३०.५५ पैसा, विक्रेताको नाफा रू. ३२, उद्योग सञ्चालन खर्च रू. ५२.५४ पैसा र विभिन्न प्राविधि खर्च रू. १.३९ पैसा प्रतिसिलिण्डिर अनुदान दिने गरेको छ ।
अध्यक्ष भण्डारीले अति प्रज्वलनशील पदार्थको कारोबार गर्ने व्यवसायीलाई नियमन गर्ने ‘विस्फोटक पदार्थ’ सम्बन्धी कानून ल्याउन ढिला भइसकेको बताए । उनले ५९ ग्यास उद्योगमध्ये ३५ उद्योगले नेपाल गुणस्तर प्रमाणपत्र लिइसकेको जानकारीसमेत दिए ।