धितोपत्र बोर्डको बचाउ, सरकारी कार्यदलको सुझाब अनुसार तत्काल गर्नुपर्ने अधिकांश काम भएको दाबी |
काठमाडौं । धितोपत्र बोर्डले सरकारले गठन गरेको पुँजी बजार सुधार सम्बन्धी कार्यदलको सिफारिस अनुसार सुधारका काम भइरहेको बताएको छ । मंसिर २० मा गठित कार्यदलमा तत्काल गर्नुपर्ने, चैत मसान्तसम्म गर्ने र २०७६ असार सम्म गर्नुपर्ने भनेर कामलाई ३ भागमा विभाजन गरिएको थियो ।
कार्यदलको सुझाव अनुसार कतिपय काम भइसकेका छन् । केही काम सम्पन्न हुने क्रममा रहेका छन् भने कतिपय पाइपलाइनमा रहेका छन् । यसर्थ, तोकिएको अवधिभित्रै सबै काम सम्पन्न हुने धितोपत्र बोर्डले दाबी गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारी कार्यदलले दिएको ५८ बुँदामध्ये आफ्नो क्षेत्राधिकारका २८ बुँदामा तत्काल गर्नुपर्ने कामहरु अधिकांश सम्पन्न भएको दाबी गरेको छ । यस्तै चैत मसान्तसम्म गर्नुपर्ने र आगामी असार मसान्तका कार्यहरु पनि अगाडि बढाइएको जानकारी दिएको छ ।
लगानीकर्ताले देखाएका बोर्डसँग सम्बन्धित केही विषय सम्बोधन भैसकेको र अन्य विषयबस्तु सम्बोधन गर्न बोर्ड प्रतिबद्व रहेको कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । आफ्ने क्षेत्रधिकारभन्दा बाहिरका विषयबस्तुमा नेपाल सरकार र अन्य निकायसँग समन्वय गरि कार्य गर्न बोर्ड प्रयासरत रहेको उल्लेख छ ।