सनराइज बैंकको ‘१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र चैत २० गतेदेखि | एक अर्बको ऋणपत्र विक्रीमा ल्याउने
काठमाडौं । सनराइज बैंकले ‘१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र विक्रीमा ल्याउने भएको छ । बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा दश लाख युनिट ऋणपत्र विक्री गर्न लागेको हो । उक्त ऋणपत्र यहि चैत २० गतेदेखि खुल्दैछ ।
एक अर्ब रुपैयाँ बराबरकोे पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जानकारी दिएको छ ।
बैंकले जारी गर्ने १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिने तथा वाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई विक्री गरिने बैंकले जानकारी दिएको छ ।
ऋणपत्र विक्री गर्न प्रभु क्यापिटललाई विक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रमा छिटोमा चैत २५ गते र उक्त अवधिमा विक्री नभएको खण्डमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसका अलवा मेरो शेयरबाट पनि ऋणपत्र भर्न सकिनेछ ।
आवेदन दिँदा न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।
सनराइज बैंकले चैत १ गते ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हाल एनएमबी बैंकको १२ लाख युनिट र ग्लोबल आईएमई बैंकको ६ लाख युनिट ऋणपत्र पनि विक्रीमा रहेका छन् । यस्तै नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख युनिट र हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र विक्री प्रकृया अगाडि बढाएका छन् ।