हिमालय ऊर्जाको १४ लाख ८५ हजार कित्ता साधारण शेयर खुल्दै, कस्तो छ कम्पनी ? |
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणलाई साधारण शेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ८५ हजार कित्ता सेयर विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
कम्पनीले शेयर सामूहिक लगानी कोषलाई निष्काशित शेयरको पाँच प्रतिशत बराबरको ७४ हजार २५० कित्ता र कर्मचारीहरुलाई दुई प्रतिशत बराबरको ४४ हजार ५५० कित्ता समेत कूल १४ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणमा विक्रीमा ल्याउनेछ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्याहरु मार्फत ७७ जिल्लाबाटै आईपीओमा आवेदन गर्न सक्नेछन् ।
यस्तै मेरो शेयर प्रयोगकर्ताले यसको प्रयोग गरेर शेयर भर्ने सुविधा रहेको छ । आईपीओ चैत २० देखि छिटोमा चैत २५ गते निष्काशन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने बैशाख १९ गतेसम्म खुला रहनेछ । आईपीओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ ।
२०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत परियोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति १२ मेगावट परियोजनाको विद्युत उत्पादन अनुमति पत्र वाँकी अवधि २९ वर्ष रहेको छ र अपर खिम्ति २ को ७ मेगाबाट परियोजनाको विद्युत उत्पादन अनुमति पत्र वाँकी अवधि ३१ वर्ष रहेको छ । लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि ९.४३ वर्ष रहेको छ ।
उपल्लो खिम्ति र अपर खिम्ति २ जलविद्युत आयोजनाको कुल लागत ३ अर्व १४ करोड ६३ लाख ७४ हजार रहेको छ । यस आयोजनाको प्रतिमेगावट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीको उपल्लो खिम्ति र अपर खिम्ति २ गरि कुल १९ मेगावटको परियोजना निर्माण गरिरहेको छ ।
रेटिङ्गमा कमजोर
हिमालय ऊर्जा विकास कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ ।