‘जनताको जलविद्युत कार्यक्रम’मा देखियो आकर्षण, एक लाख ४७ हजारले दिए आवेदन | ३६ करोडको आईपीओमा ६ अर्ब ३० करोड
काठमाडौं । सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत चैत ७ गतेदेखि माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाले निष्काशन गरेको आईपीओ धेरैको आकर्षणमा परेको छ । त्रिशूली थ्री ‘बी’ को करिव ३६ करोडको साधारण शेयर (आईपीओ) मा एक लाख ४७ हजार आवेदनबाट ६ अर्ब ३० करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको ६ करोड ३० लाख ५८ हजार ५०० बढी कित्ताको माग आवेदन परेको हो ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार चैत ११ गते सोमबार अन्तिम दिनसम्म मागभन्दा १७.५५ गुणा बढी ६ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।
नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाले चैत ७ गतेदेखि जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता शेयर खुला गरेको हो । निष्काशित शेयरमध्ये ३ प्रतिशत अर्थात एक लाख ११ हजार १५० कित्ता कर्मचारीको लागि छुट्टायाएर वाँकी ३५ लाख ९३ हजार ८५० कित्ता शेयरका लागि मात्र सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
आईपीओमा यो सर्वसाधारणकाबाट आह्वान गरिएको ३५ लाख ९३ हजार ८५० कित्ताको आधारमा ६ करोड ३० लाख ५८ हजार ५०० बढी कित्ताको आवेदन १७.५५ गुणाले बढी हो ।
सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आईपीओ निष्काशन गरेको त्रिशुली थ्री ‘बी’ को शेयरमा लगानीकर्ताले पहिलो चरणमा दश प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा प्रतिकित्ता १० रुपैयाँमा आवेदन मागेको हो । तर कम्पनीको शेयरमा साढे १७ गुणा आवेदन परेकाले अहिले मागेको दश प्रतिशत रकम बराबरको मात्र शेयर प्राप्त गर्ने अवस्था देखिएको छ ।
आईपीओमा आवेदन गरेका लगानीकर्ताले शेयर निष्काशन नभएसम्म लगानी रकमको वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन् । आईपीओमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिने पाउने व्यवस्था थियो ।