नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान तालिकामा हेरफेर | अब सातामा तीन दिन मात्रै उडान हुने
युएई । नेपाल एयरलाइन्सले नियमित गर्दै आएको काठमाण्डौं–दुबई उडान तालिकामा हेरफेर गरेको छ । त्रिभुवन विमानस्थल र दुबईको विमानस्थल टर्मिनल दुईको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले उडान तालिका परिवर्तन भएको नेपाल एयरलाइन्स युएई शाखाले शुक्रबार आबुधाबीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
एयरलाइन्सले अब वाइडबडी विमानमार्फत हप्तामा तीन दिन मात्र उडान गर्नेछ । सार्वजनिक गरिएको नयाँ तालिका चैत १८ गते अर्थात अप्रिल १ तारिखदेखि ०७६ असार १५ गते अर्थात जुन ३० तारिखसम्म लागू हुनेछ ।
यो अवधिमा काठमाडौंमा रातिका सबै उडान बन्द हुनेछ । त्यस्तै दुबईको विमानस्थल टर्मिनल दुईमा हुदैँ आएका ३५ प्रतिशत उडान कटौती भएको छ ।
दुबई विमानस्थलको दक्षिण पूर्वतर्फको धावनमार्ग पनि मर्मत गरिने भएकाले त्यहाँबाट हुँदै आएको उडान बन्द हुने भएको हो । त्यसकारण तीन महिनाका लागि दुबईमै रहेको अल मक्तुम विमानस्थलबाट उडान र अवतरण गर्ने एयरलाइन्सका यूएई प्रमुख टिकाराम पङ्गेनीले बताए ।
नयाँ समयतालिका अनुसार काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार तथा दुबईबाट बुधवार, शुक्रबार र आइतबार मात्रै उडान हुनेछ । एयरलाइन्सले नेपालबाट राती सवा ९ बजे र दुबईबाट बिहान २ː २० मा उडान भर्नेछ ।
यो अवधिमा पहिलेनै टिक लिइसकेका यात्रुले टिकटको मिति परिवर्तन वा टिकट फिर्ता गर्नुपरेमा टिकट लिएको ट्राभल एजेन्सीबाट विनाकुनै थप शुल्कमा टिकट अद्यावधिक गर्न सक्नेछन् । तर, यो सुविधा भने एकपटक मात्र लिन सकिने एयरलाइन्सले जानकारी दिएको छ ।