गुराँस लाइफ इन्स्योरेन्सले चैत २८ गतेदेखि हकप्रद जारी गर्ने |
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले यहि चैत २८ देखि चुक्ता पूँजी ५९ करोड ७० लाख रुपैयाँको ५० प्रतिशत अर्थात २ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भएको छ ।
इन्स्योरेन्सले लक्ष्मी क्यापिटल मार्केट मार्फत प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर चैत ७ गते बिहीबर प्रतिकित्ता ५१० रुपैयाँमा कारोबार भएको छ । हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् ।
उक्त हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि हकप्रदमा आवेदन दिन सकिनेछ ।
यस्तै हकप्रदमा लक्ष्मी बैंकको शाखा कार्यालयहरू महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुर, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटाबाट पनि आवेदन गर्न सकिनेछ । हकप्रद भर्ने अन्तिम दिन २०७६ जेठ १ गते रहेको छ ।
हाल यो कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ३ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।
पचास प्रतिशत हकप्रदपछि कम्पनीले चैत २१ गते डाकेको साधारण सभाबाट फेरि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।