चैत १४ देखि चौथो अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला | १ सय ७ वटा स्टल, ५ करोड रुपैयाँबराबरको कारोबार हुने महासंघको अपेक्षा
काठमाडौं । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यही चैत १४ गतेदेखि ‘चौथो अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९’ सञ्चालन हुने भएको छ । चैत १८ गतेसम्म चल्ने उक्त मेला महिला उद्यमी महासंघ नेपालले आयोजना गर्न लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, नेपाल इन्भेष्टमेन्ट बैंक, एफसीएलगायतको सहकार्यमा उक्त मेला आयोजना हुन लागेको मेलाबारे जानकारी दिन आज आइतवार आयोजित एक कार्यक्रममा आयोजकले बताएका हुन् ।
आयोजकका अनुसार नेपालमा उत्पादित वस्तु एवम् हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन उक्त मेलाको आयोजना गर्न लागिएको हो ।
महिला तथा बालबालिकामन्त्री थममाया थापाले उद्घाटन गनेृ कार्यक्रम रहेको उक्त मेलाको मुख्य आकर्षण सिन्धुली जिल्लाको घाँस बेच्ने एक महिला उद्यमी सुकमाया तामाङ रहेकी छिन् । ग्रामीण क्षेत्रकी सफल महिला उद्यमी तामाङलाई उनको उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउन मुख्य आकर्षणको रूपमा राखिएको महासंघकी अध्यक्ष शारदा रिजालले बताइन् ।
आयोजकका अनुसार मेलामा रहने १०७ वटा स्टलमध्ये चारवटा निःशुल्क रहने बताइएको छ भने छवटा अन्तरराष्ट्रिय स्टल रहनेछन् । मेलामा स्टल राख्न चाहने उद्यमी सदस्यलाई २२ हजार, सदस्यता नभएकालाई २७ हजार र जिल्लाबाट आउनेलाई रू. १५०० रुपैयाँ मात्र शुल्क लाग्नेछ ।
मेलामा स्वदेशका ३२ वटा जिल्लाबाट उद्यमी लगायत बंगलादेश, भारत, कम्बोडिया, थाइल्याण्ड र पाकिस्तानका महिला उद्यमीहरू सहभागी हुनेछन् ।
हस्तकलाको महत्व दर्शाउन सम्पूर्ण अवलोकनकर्तालाई हस्तकलाको उत्पादनको प्रत्यक्ष प्रदर्शनको अवसर प्रदान गरिनेछ । साथै, कम्बोडियाबाट कम्बोडिया महिला उद्यमी संघबाट १० जनाको टोली मेलाको निरीक्षण तथा अवलोकन गर्न आउने बताइएको छ । त्यस्तै, मेलामा सार्क राष्ट्र, युरोपलगायतका देशहरूबाट गरी ५० जनाभन्दा बढी विदेशी आयातकर्ता आउने अपेक्षा लिइएको आयोजकले बताएका छन् ।
मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरमा निर्माण गरिएका सामानहरू, हातेकागज तथा काठजन्य वस्तुहरू, जैविक खाद्य पदार्थ, कृषिजन्य उत्पादनहरूलगायत विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू रहनेछन् । मेलामा करिब ५० हजारले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँबराबरको कारोबार हुने महासंघले अपेक्षा राखेको छ । मेला अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।