सेयर बजार सुधार र विस्तारका लागि भन्दै धितोपत्र बोर्डमा लगानीकर्ताले लगाए ताला |
काठमाडौं । आज बिहान नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार सुधार र विस्तारका लागि भन्दै केहि सातापहिले चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।
बोर्डले गत चैत ४ गते प्रेश विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको थियो । यस अघि नेपाल स्टक एक्सचेन्ज आमरण अनसन बसेको दबाब समूहले धितोपत्र बोर्डमा ३२ वटा माग राखेको थियो । समूहले पेस गरेका ३२ बुँदा मध्ये अधिकांश विषय बोर्डले संवोधन गरिसकेको छ । उता बोर्डले लगानीकर्ता माग अनुसार १२ वटा वुँदाको संबोधन सहित कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । बोर्डले लगानीकर्ताको दबाबपछि प्राथमिक शेयर निष्काशन गर्दा क्रेडिट रेटिङ ५ आएका कम्पनीले शेयर निष्काशन गर्न नपाउने व्यवस्था गरेको छ ।
शेयर बजारमा लगानी भित्र्याउन प्राइभेट इक्विटी फण्ड भेन्चर क्यापिटल हेज फण्ड जस्ता बैकल्पिक लगानीकोषका लागि विशिष्टिकृत लगानी कोष नियमावलनी २०७५ लागु गरिसकेको छ । यसका साथै एफपीओ निष्काशनको लागि प्रिमियम रकमको गणना विधिलाई पनि परिवर्तन गरिसकेको छ ।
समूहले सोमबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा पनि ताला लगाउने तयारी गरेको छ । समूहले अग्रिम रुपमा जानकारी गराउदै सोमबार नेप्से कार्यालयमा ताला लगाउने घोषणा गरेको हो । बोर्डले चैत्र १५ र १६ गते हुन गैरहेको दोस्रो अन्तरराष्ट्रिय लगानी सम्मेलनमा असहज वातावरण सिर्जना नगर्न आग्रह गरेपनि उनीहरुले अटेर गरेका छन् ।
लगानीकर्ताहरुको घोषित आन्दोलनमा आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने उल्लेख गरेका थिए । तर घर घेराउँ गर्न जादा नकरात्मक असर पर्न सक्ने भन्दै आन्दोलनको स्वरुप बदलेर बोर्डमा ताला लगाइएको बताइएको छ ।