अब प्रदेशबाट पनि कम्पनीको नबिकेको हकप्रद लिलामी, उपत्यका बाहिरका १४ स्थानबाट आवेदन संकलन गरिने |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कम्पनीहरुको हकप्रद शेयर लिलामी अब प्रादेशिक रुपमा समेत गर्ने निर्णय गरेको छ । इच्छुकले अब प्रदेशका विभिन्न शहरबाट आवेदन दिन पाउने भएका छन् । बोर्डले उपत्यका बाहिरका १४ स्थानहरुबाट समेत हकप्रद लिलाम प्रक्रियामा आवेदन संकलन गर्ने व्यवस्था गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ ।
धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशनपछि विक्री नभएको शेयरको लिलाम प्रक्रियामा काठमाण्डौ उपत्यका वाहिरबाट पनि गरिने भएको बोर्डले जानकारी दिएको छ ।
यसअघि बोर्डले २०७४ कार्तिक १२ गते आश्वा सदस्य तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन जारी गर्दै आश्वा प्रणाली मार्फत हकप्रदमा आवेदन दिने व्यवस्था लागू गर्न र उपत्यका बाहिरका प्रमुख ७ शहरहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट हकप्रद लिलामीमा आवेदन दिनसक्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।
कहाँबाट दिने आवेदन ?
प्रदेश नं १ – विराटनगर र विर्तामोड
प्रदेश नं २ – विरगंज र जनकपुर
प्रदेश नं ३ – हेटौंडा र नारायणगढ
प्रदेश नं ४ – पोखरा र वाग्लुङ
प्रदेश नं ५ – वुटवल, घोराही र नेपालगञ्ज
प्रदेश नं ६ – सुर्खेत
प्रदेश नं ७ – धनगढी र महेन्द्रनगर