हिमालयन बैंकले १० प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै, सात बर्षमा पैसा फिर्ता |

काठमाडौं । हिमालयन बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने प्रकृया अगाडि बढाएको छ । यसका लागि बैंकले लक्ष्मी क्यापिटल लिमिटेडलाई ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजिब सापकोटाले हस्ताक्षर गरेका छन् ।
बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र विक्री गर्ने जनाएको छ ।
जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तबरबाट विक्री गरिने बैंकले जनाएको छ ।
सात बर्षे अवधिको उक्त ऋणपत्रमा बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।