धनगढीबाट अछामसम्म हवाई सेवा शुरु, नियमित उडान छिट्टै |

कैलाली । सुदूरपश्चिम प्रदेशबाट आफ्नै प्रदेशमा आन्तरिकतर्फ पहिलो पटक धनगढी–अछाम हवाई सेवा शुरु भएको छ । अछामको साफेवगरबाट शुक्रबार विहान नौ बजेर ४ मिनेटमा १६ जना यात्रु बोकेर पहिलो उडान गरेको समिट एयरले धनगढीबाट नौ बजेर ४३ मिनेटमा १८ जना यात्रु बोकेर अछाम पुगेको छ ।
साफेबगर विमानस्थल कालोपत्रे भएपछि पहिलो पटक आन्तरिक उडान शुक्रबार शुरु भएको हो । गत फागनु २२ गते नेपालगञ्जबाट साँफेबगर परीक्षण उडान गरेको समिट एयरले चैत ७ गते पुनː दोस्रो उडान सोही रुटमा गरेको थियो । साँफेबगरबाट धनगढीका लागि नियमित उडान भने आन्तरिक छलफलपछि मात्रै टुंगो लाग्ने समिट एयरका नेपालगञ्ज प्रमुख सरोजप्रसाद उप्रेतीले जानकारी दिए ।
उनले यात्रुहरुको चाप हेरेर आगामी दिनमा नियमित उडान संख्या बढाउदै लैजाने बताए । धनगढीबाट साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैया भाडादर कायम गरिएको छ ।
धनगढी–साफेबगर नियमित हवाइ सेवा शुरु भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा र डोटीसम्मका यात्रुलाई आवतजावतमा सहज हुने छ ।