बुटवल नारायणगढ सडक चार लेनको बन्दै, प्रधानमन्त्रीले गरे शिलान्यास, लागत १५ अर्ब |

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक ४ लेनको बन्ने भएको छ । यो सडक खण्ड ५७ बर्षपछि फराकिलो हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० पछि नेपालमा सुरुङ युग आउने दावी गरेका छन् । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले २०७५ देखि २०८० सम्म सडकयुग र त्यसपछि सुरुङ युग आउने बताएका हुन् ।
उनले भने ‘अब शुरु भो,अघि बढ्यो कसैले रोकेर रोकिन्न, ७५ देखि ८० सम्म सडक युग, ८० देखि शुरुङ युग शुरु हुन्छ ।’ उनले कर्मचारीलाई निर्देशन दिँदै भने आयोजनामा छैन भने संशोधन गर्नुस भैरहवा —लुम्बिनी—तौलीहवा सडक पनि नमुना बन्नेछ ।’ सडकका लागि निर्माण सामग्री अभाव हुन नदिने पनि उनले बताए । ‘वाताबरणको सुरक्षा पनि होस, गिट्टी बालुवा पनि निकालौं, नेपालमा पनि ढुंगा गिट्टीको अभाव हुन्छ ? डाडाकाँडा काटेर पनि निकालिन्छ चिन्ता नलिऔं ।
प्रधानमन्त्री ओलीले मृत्युमार्गको परिचय बनाएको रुपन्देहीको सिद्धबाबा खण्डमा पनि छिटै सुरुङ मार्ग बन्ने बताए । ‘अब सिद्धबाबाका बारेमा धेरै गीत गाइरहन पर्दैन’ उनले भने । सडक निर्माणका लागि ढुंगा, गिटी बालुवाको कमी नहुने भन्दै उनले पहाड फोरेर पनि काम नरोकिने बताए ।
पूर्व पश्चिम रेल मार्ग पनि छिटै बन्ने प्रधानमन्त्री ओलीले बताए । गौतमबुद्ध जन्मस्थललाई लुम्बिनी जस्तै पवित्र र स्वच्छ बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।
२८ किलोमिटरमा ६ लेन
बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात सर्भिस लेन पनि संगै हुनेछ ।
चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले बताए । ‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सन बनाउनेछ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने—बुटवल ४९ किलोमिटरमा बन्नेछ, उनले भने ।
सडकका लागि नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले जनाएको छ ।
आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यसपछि २०७४ साउन २१ सम्म मर्मत सम्भार पनि ठेकेदार कम्पनीले नै गर्नेछ । आयोजना ठेकेदारले निर्माण सामग्री चीन, पाकिस्तान र भारतबाट भित्र्याएको छ ।
२१ वटा पुल, डिभाइडरमा हरियाली
सो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहा–जहँ पुल छन्, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बन्नेछन् ।
सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिनेछन् । यो सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ । सडक आयोजनाका कार्यालय भने गैंडाकोटमा रहेको छ ।