गणपति माइक्रोफाइनान्सले तीन करोड ३५ लाख रुपैयाँको आइपीओ ल्याउदै |
काठमाडौं । गणपति माइक्रोफाइनान्सले तीन करोड ३५ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई प्रति कित्ता १०० रुपैयाँको दरमा तीन लाख ३५ हजार कित्ता आइपीओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
प्राथमिक शेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार संस्थाले केयर एनपी आइपीओ ग्रेड चार प्राप्त गरेको छ । यसले मध्यम किसिमको जोखिमको संकेत गर्दछ ।
प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी १० करोड ३५ लाख रुपैयाँ पुग्नेछ । जसमा सर्वसाधारणको हिस्सा ३२.३७ प्रतिशत कायम हुने छ भने संस्थापकतर्फ ६७.६३ प्रतिशत अर्थात ७ करोड रुपैयाँ कायम हुनेछ ।
धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकका लागि संस्थाले एनआईबीएल एस क्यापिटलाई नियुक्त गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार संस्थाले एक करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाले ४५ करोड ८० लाख रुपैयाँ बरोइङ र १७ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ६६ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले २०७३ मंसिरमा व्यवसाय सञ्चालन अनुमति पाएर वित्तीय कारोबार गर्दै आएको छ । संस्थाले २८ वटा शाखा कार्यालय मार्फत ९५ वटा नगरपालिका तथा गाँउपालिकामा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।