एक पटकमा ५ लाख बढीको कारोबार गर्न मात्र प्यान चाहिनेː धितोपत्र बोर्ड |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा एक पटकमा पाँच लाख वा सोभन्दा बढीको कारोवारमा मात्र स्थायी लेखा नम्बर (प्यान) चाहिने प्रष्ट पारेको छ । आगामी वैशाखदेखि पाँच लाख बढीको शेयर किनबेचमा प्यान अनिवार्य गर्न लागेको बोर्डले लगानीकर्तामा केही दुविधा पाइएको भन्दै पुन विज्ञप्ति जारी गरेको छ ।
दोस्रो बजारमा धितोपत्र खरीद वा विक्री गर्दा दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र स्थायी लेखा नम्बर अनिवार्य हुने बोर्डले प्रष्टयाएको छ ।
बोर्डले आगामी बैशाख एक गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार (खरीद वा विक्री) गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।
साथै सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरिएको पनि बोर्डले प्रष्ट पारेको छ ।