भारतसँग दुई वटा रेल किन्न ८४ करोड रुपैयाँ दिने सरकारको निर्णय, जेठदेखि जयनगर–कुर्थासम्म रेल चल्ने |

काठमाडौं । रेलको डिब्बा किन्न सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग दुईवटा रेल किन्न लागेको हो । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो ।
भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेलमार्ग निर्माण भइसकेको छ । यही रेल चलाउन सरकारले डिब्बा किन्न यो रकम दिने निर्णय गरेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल किन्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । बजेटमा उपलब्ध रकमले दुईवटा रेल खरिद गर्न नसकिने भन्दै विभागले रकम थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद्ले थप रकमसहित कोकन रेल्वे कर्पोरेसनसँग जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न सहमति दिएको हो । दुई साताभित्र रेल खरिद प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
नयाँ रेल बर्दिबास–जनकपुर–जयनगर–कुर्था–विजयपुरसम्म सञ्चालन गर्ने लक्ष्य छ । यो खण्डको लम्बाइ ६९ किलोमिटर छ । त्यसमध्ये ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ । बाँकी खण्ड निर्माणाधीन छ । दुई महिनाभित्र नयाँ रेल सञ्चालनमा ल्याउने तयारी विभागको छ ।
नयाँ रेलमा पाँचवटा डिब्बा हुनेछन् । अगाडि र पछाडि दुवैतर्फ इन्जिन जोडिएको हुनेछ । यसलाई दुवैतर्फ चलाउन मिल्नेछ । यस्तो रेल डिजेल इलेक्टिफाइड मल्टिपल युनिट (डेमु) विद्युत तथा डिजेल दुवैबाट सञ्चालन गर्न सकिन्छ । रेलको दुवैतर्फ इन्जिन भएकाले फर्काउनुपर्ने समस्या नहुने र छोटो दूरीका निम्ति उपयुक्त हुने बताइएको छ ।
शुरुमा सरकारले वेट लिजमा रेल ल्याएर संचालनको निर्णय गरेको थियो । तर भाडामा ल्याउनु भन्दा किनेरनै संचालन गर्दा फाइदा हुने भन्दै निर्णय परिवर्तन गरिएको थियो । रेल विभागका महानिर्देशक मिश्रले वैशाखसम्म रेल खरीद गरेर जेठ महिनासम्म संचालनमा ल्याइसक्ने बताए।
मिश्रका अनुसार भारतीय सरकारले तोकिदिएको सरकारी संस्थानसंग रेल खरिद गर्न लागिएको हो । विभागका अनुसार एउटा डिमो ट्रेन सेटमा ५ वटा डिब्बा हुन्छन्।् । एउटा सेटमा एक हजार भन्दा बढी यात्रु अटछन् ।