महिला सहयात्रा लघुवित्तले ग्लोबल अवार्डसहित पायो १ लाख डलर |

काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था हालै पुरस्कृत भएको छ । उक्त संस्था ‘राजकुमारी सविकाविन्त अब्राहिम अल–खालिफा ग्लोबल अवार्ड’ द्वारा सम्मानित भएको हो ।
सार्वजनिक संस्था, निजी, गैरसरकारी र स्वतन्त्र गरी चार विधामा विभिन्न मुलुकका १८ सय ८७ प्रतिस्पर्धीहरूलाई उछिन्दै महिला सहयात्रा पुरस्कृत भएको हो । संस्थाले १ लाख अमेरिकी डलरसहित ग्लोबल अवार्ड प्राप्त गरेको छ ।
देशभरका २८ हजारभन्दा बढी महिलाहरूका बीच लघुवित्त सेवाका साथै लघु उद्यममार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यहरूमा विशेष योगदान गरेबापत संयुक्त राष्ट्रसंघको ६३औं महासभाले संस्थालाई सम्मानित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमिता मानन्धरले जानकारी दिइन् ।
अवार्ड ११ मार्च २०१९ मा संयुक्त राष्ट्रको महिलाहरूको अवस्थासम्बन्धी ६३औं महासभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत मानन्धरले अवार्ड ग्रहण गरेकी थिइन् । संस्थाले नेपालका अति विकट क्षेत्रहरूमा गई स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै सीपमूलक तालिम दिई पिछडिएका महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको उनले बताइन् ।
९३ जना महिला सदस्यहरूबाट शुरू गरिएको संस्थाले हाल २६ वटा शाखामध्ये २१ वटाले अति विकट क्षेत्रमा गएर काम गरेको संस्थाले जनाएको छ । संस्थाले लघुवित्तका साथै सिप विकास तालिम तथा बजारीकरणको कामसमेत गरेको छ ।