माथिल्लो त्रिशूली थ्री ‘बी’ आईपीओ खुल्यो, प्रम ओली र ऊर्जामन्त्रीले दिए आवेदन |
काठमाडौं । जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको त्रिशूली जलविद्युत कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ को प्राथमिक शेयर (आईपीओ) आज बिहीवारदेखि खुला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आईपीओका लागि पहिलो आवेदन दिएका छन् । उनले बालुवाटारस्थित निवासबाट १० हजार कित्ताका लागि आवेदन दिएका हुन् ।
प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि उक्त आयोजनाको शेयरका लागि आवेदन दिएका छन् । उनले १ हजार कित्ताका लागि मात्रै आवेदन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँको दरमा सर्वसाधारणका लागि छुट्याएको ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । प्रतिकित्ता १ सय रुपैयाँ पर्ने उक्त शेयर पहिलो चरणमा शेयर किन्ने प्रतिवद्धतास्वरुप सरकारले १० प्रतिशत मात्रै रकम तिरेर आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।
जनताको जलविद्युत कार्यक्रमको उद्घाटनका अवसरमा प्रम ओलीले पहिलो शेयर आफूले किन्ने घोषणा गरेका थिए । त्यही प्रतिवद्धताअनुरुप उनले आज पहिलो आवेदन आफूले दिएका छन् । प्रधानमन्त्री ओलीको घोषणासँगै धितोपत्र बोर्डले पनि रातारात शेयर निष्कासन प्रक्रियालाई सहजीकरण गरेको थियो भने गत बिहीवार मात्रै क्रेडिट रेटिङ गर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई फुकाएको थियो ।
शेयरधनीहरूले हाललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्नेछन् । बाँकी ९० रुपैयाँ कम्पनीले दोस्रो चरणमा निष्कासन गर्नेछ । हाल प्रतिकित्ता १० रुपैयाँमा शेयर खरिद गर्नेले नै बाँकी ९० रुपैयाँको दरमा शेयर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
उक्त शेयरका लागि आवेदन छिटोमा चैत १२ गते र पहिलो चरणमा विक्री नभएमा ढिलोमा वैशाख ६ गतेसम्म विक्री खुला गर्ने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बताएको छ । कम्पनीको जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँ रहेको भने अधिकृत पूँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये ३ प्रतिशत अर्थात् १ करोड ११ लाख १५ हजार रुपैयाँ कर्मचारीहरूका लागि सुरक्षित गरेको छ ।
कर्मचारीहरूलाई दिएर बाँकी रहेको ३५ करोड ९३ लाख ८५ हजार रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि छुट्याएको हो । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्येकै १० प्रतिशत अर्थात ३ करोड ७० लाख ५० हजार रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो । आवेदनका लागि आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ । मेरो शेयरमा खाता हुनेले अनलाइन आवेदन दिन सक्नेछन् ।
सरकारले प्रवर्द्धन गरेको ३७ मेगावाट क्षमताको यो आयोजना नुवाकोट र रसुवा जिल्लाको सिमानामा छ । २८.९ प्रतिशत निर्माण कार्य सकिएको यो आयोजनाको निर्माण लागत प्रतिमेगावाट २२ करोड २३ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
कम्पनीको लगानी फिर्ता हुने अवधि ७.९५ वर्ष रहेको छ । त्यस्तै डिस्काउण्टेड लगानी फिर्ता अवधि ११.८२ वर्ष रहेको छ । कम्पनीले प्रक्षेपण गरेअनुसार आर्थिक वर्ष २०७८७९ बाट नाफामा देखिनेछ । नाफामा देखिँदा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ हुने अनुमान गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७९८० मा प्रतिशेयर आम्दानी ३३ रुपैयाँ हुने कम्पनीको अनुमान छ ।