सेण्ट्रल फाइनान्सको ७ प्रतिशत नगद लाभांश पारित |
काठमाडौं । सेण्ट्रल फाइनान्स लिमिटेडको सञ्चालक समितिको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । मंगलवार सम्पन्न संस्थाको २२औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । संस्थाले उक्त नगद लाभांश गतआवको नाफाबाट शेयरधनीलाई वितरण गर्ने भएको हो ।
हाल आठ स्थानमा शाखा सञ्चालन गरिरहेको यस फाइनान्सले आगामी साताबाट सिन्धुलीको भिमानमा थप एक शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ । साथै, आगामी दिनमा थप शाखा स्थापना गरी शाखा सञ्जाल र कार्यक्षेत्र पनि विस्तार गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोजमान श्रेष्ठले बताए ।
ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप ३ अर्ब १३ करोड र कर्जा लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आगामी २०७६ साल असार मसान्तदेखि ललितपुरको कुपण्डोलस्थित संस्थाको जग्गामा केन्द्रीय कार्यालय सारिने कम्पनीले बताएको छ । हाल उक्त जग्गामा कर्पोरेट भवन निर्माण कार्य भइरहेको छ ।