होली पर्व धुमधामकासाथ मनाइँदै, काठमाडौंमा कडा प्रहरी चेकिङ |
काठमाडौं । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । आज बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फागुन महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । यस्तै प्रहरीले सुरक्षा चेकजाँचलाई पनि कडा बनाएको छ । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेको राजधानीबासीको भनाई छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
होलीको प्रभावले खुद्रा व्यापारमा २५ प्रतिशतले कमी आएको छ । होली पर्व संगै बजारमा हुने खाद्यान्नको व्यापारमा भने कमी आउन गरेको छ । घर बाट बाहिर निस्किदा मानिसहरुले इच्छा बिना रङ्ग लगाइदिने र दुषित पानी प्रयोग गर्ने भएका कारण धेरै व्यक्तीहरु घर बाट बाहिर नआउनाले व्यापारमा कमी आएको व्यवसायीहरुको भनाई छ ।
प्रत्येक वर्ष साँस्कृतिक पर्वका रुपमा मनाउदै आएको होली पर्वले उत्साह र उमंग ल्याउने गरेको छ । विभिन्न थरिका रङ, बेलुन, प्रलास्टिकका थैलाहरुले होलीे दर्शाउने गर्दछ ।
कतिपय मानिसहरु यस पर्वमा रमाउन चाहान्छन् भने कतिपय व्यक्तीहरु यसबाट टाढै बस्न रुचाउने गर्दछन् । होली पर्व आफ्नो इच्छा शक्तीले खेल्ने खेल हो ।
बजारमा पाइने विभिन्न थरिका रङ र होली लेखेका टिर्सटहरुले बजार रङ्गिचंगि देखिने गरेको छ । फागुन वा चैत पुर्णिमाका दिन मनाउने यस पर्वलाई युवायुवतीहरुले विशेष रुपमा लिने गरेका छन् ।
उपत्यकामा ५३ स्थानमा चेकिङ
ओभर स्पिड, हेल्मेट नलगाउनमो प्रवृत्ति र सवारी–साधनको प्रयोग गरेर लोला हान्ने प्रवृत्ति नियन्त्रणका लागी विशेष ट्राफिक ब्यवस्थापन गरिने महानगरीय ट्राफिक महाशाखा प्रमुख डिआईजी मिङमार लामाले जानकारी दिए ।
‘नियमित चेकिङ बाहेक होलीको दिन हामी थप चेक प्वाईन्ट खडा गर्छौं, मापसे चेकिङ र अन्य कारवाहीलाई प्रभावी बनाउने गरी कार्यनिती तय गरेका छौं’ डिआईजी लामाले भने, ‘बिहान सात बजेदेखि साँझ सात बजेसम्म रेगुलर बाहेक उपत्यकामा ५३ स्थानमा चेक प्वाईन्टहरु राखेका छौं ।’