कास्कीमा पनि बर्डफ्लु फेला | संक्रमित क्षेत्रका कुखुरा, चल्ला, पन्छीजन्य पदार्थ सब नष्ट गरिन्छ : प्रजिअ
पोखरा । कास्कीमा पनि बर्डफ्लु फेला परेको छ । जिल्लाको मादी गाउँपालिका–३, याङ्जाकोटमा सञ्चालित एक कुखुरा फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको पत्ता लागेको हो ।
स्थानीय सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू भेटिएको भेटेरेनरी अस्पताल पोखराका पशु चिकित्सक सहदेव पौडेलले जानकारी दिए । सङ्क्रमित क्षेत्रलाई हाल चार किल्ला कायम गरिएको । साथै, त्यहाँ रहेका कुखुरा, चल्ला एवम् पन्छीजन्य पदार्थ पूर्ण रूपमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।
बुढाका अनुसार सङ्क्रमित क्षेत्रबाट कुखुरा र कुखुराजन्य वस्तु ओसारपसार गर्न रोक लगाइएको र जिल्ला प्रवेश गर्ने नाकामा समेत कडाइ गरिएको छ ।