पोखराका बसमा ईटिकट र कार्ड प्रणाली लागू हुँदै |

काठमाडौं । पोखराभित्र चल्ने बसमा बैशाखदेखि विद्युतीय टिकट प्रणाली (ईटिकेटिङ सिस्टम) लागू हुने भएको छ । बसमा यात्रा गर्दा टिकट र कार्ड प्रणाली लागू गर्न आइतबार पोखरा महानगर, पोखराका बस व्यवसायी र काठमाडौंको एनक्लाउड कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका हुन् ।
बस व्यवसायी समितिले विद्युतीय टिकट प्रणाली लागू भएपछि प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । उक्त कार्ड मूल्य १ सय ५० रुपैयाँ पर्ने र त्यसमा १ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिने सुविधा हुने बताइएको छ । ‘यात्रुले पाएको कार्ड गाडीका सहचालकसँग भएको मेसिनमा घुसाएपछि जीपीएसका आधारमा भाडा स्वतː कार्डबाट बैंकमा ट्रान्सफर हुने ब्यवस्था मिलाएको छ ।