व्यवसाय गर्ने वातावरण नै भएन : व्यवसायीहरू | गुरुङको घरमा भएको क्षतिको क्षतिपूर्ति दिलाउन पहल गर्छुु : प्रचण्ड
काठमाडौं । उद्योगी व्यवसायीहरूले सुरक्षाको दृष्टिकोणले नेपालमा अहिले व्यवसाय गर्ने वातावरण नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग आज आइतवार भएको भेटघाटमा उनीहरू त्यस्तो धारणा राखेका हुन् ।
दाहालकै निवास खुमलटारमा भेटघाट गर्न गएको महासंघको उक्त टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरूसमेत सहभागी थिए ।
भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा अहिले व्यवसाय गर्ने वातावरण नभएको बताए । उनले नेपालले आयोजना गर्ने लगानी सम्मेलन नजिकिँदै गर्दा देशमा विभिन्न किसिम विस्फोटनहरू र बन्द हडताल भइरहेको छ, यसले गर्दा व्यवसायीहरू अझै त्रसित भएको बताए ।
महासंघका उपाध्यक्ष ढकालले सुरक्षालगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न कठिनाइ परेको जानकारी गराए ।
गुरूङले आफ्नो घरमा भएको विस्फोटनको घटनाबारे विस्तृत रूपमा जानकारी गराए । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि उत्पन्न व्यावसायिक सुरक्षाका विषयमा टोलीले दाहालको ध्यानाकर्षण गरायो ।
जवाफमा अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा सम्बोधन गर्ने प्रयास भइरहेको बताए । उनले व्यावसायिक सुरक्षाका लागि सरकार सदैव संवेदनशील रहेको बताउँदै हालै गुरुङको घरमा भएको विस्फोटनबाट भएको नोक्सानीको क्षतिपूर्ति दिलाउन सरकारसँग छलफल गर्ने आश्वासन दिए ।