५ सय ४५ नेपाली विदेशी जेलमा, २४ जना अस्पतालमा अचेत |

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा विदेशिएका युवायुवतीमध्ये हालसम्म ५ सय ४५ जना विभिन्न देशका जेलमा बन्दी जीवन बिताउन बाध्य भइरहेको तथ्यांक सार्वजनिक भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उक्त तथ्यांक सार्वजनिक गरेके हो ।
उक्त तथ्यांकमा हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताइरहेको उल्लेख छ । कुवेतमा ५५ पुरुष र तीन महिला, संयुक्त अरब इमिरेट्समा १७३ पुरुष र १२ महिला, मलेशियामा २०२ पुरुष र तीन महिला, ओमानमा एक पुरुष र दुई महिला, साउदी अरबको जेलमा ३१ र रियादमा २३ पुरुष, कतारमा ३५ पुरुष र बहराइनमा पाँच पुरुष कामदार कारागारमा बन्दी अवस्थामा रहेको पाइएको बोर्डले बताएको छ ।
त्यसैगरी, कामका सिलसिलामा दुर्घटनामा परी २१ पुरुष र तीन महिला गरी २४ जना अचेत अवस्था (कोमा) मा विभिन्न अस्पतालमा रहेका छन् । कुवेतमा तीन पुरुष एक महिला, संयुक्त अरब इमिरेट्स र ओमानमा एकएक, साउदी अरबमा पाँच, कतारमा नौ तथा बहराइनमा चारजना सम्बन्धित मुलुकको अस्पतालमा अचेत अवस्थामा रहेको बोर्डले जनाएको छ ।
विदेशमा त्यसरी विभिन्न कारणबाट जेलमा परेका नेपाली श्रमिकको उद्धारका लागि कानूनी सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । फौजदारी कसुरको अभियोग लागेका नेपाली कामदारलाई निजको तर्फबाट कानूनी प्रतिरक्षा तथा बहस पैरवी गर्न सरकरारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको उनले बताए ।
‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ अनुसार कामदारको उद्धारका लागि बढीमा रू. १५ लाखसम्म उपलब्ध गराइने उनले बताए ।