सिनो हाइड्रोको बस दुर्घटना, दुईको मृत्यु, २४ घाइते |

दोलखा । दोलखामा मजदुर बोकेको बस दुर्घटना भई सडकबाट ३० मिटर तल खस्दा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन् । सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा. ४ ख ४५७३ नम्बरको बस आज शुक्रवार बिहान ७ः४५ बजे बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो ।
दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिप्रका दोलखाले बताएको छ । जिप्रका दोलखाका अनुसार घाइते सबैको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।