सौर्य एयरलाइन्सले तिर्यो १ करोड वक्यौता, अब करिब ३ करोड बाँकी |
काठमाडौं । वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई करीब रू. १ करोड वक्यौता तिरेको छ । कम्पनीले पहिलो चरणको किस्ताबापत यही फागुन २१ गते रू. ५० लाख तिरेर यही फागुन २४ गतेबाट पुनः सेवा सुचारु गरेको थियो । उक्त कम्पनीले गत आइतवारसम्ममा रू. ९८ लाख ५० हजार वक्यौता विमानस्थललाई बुझाएको हो ।
विमानस्थलका अनुसार दुई महीनाभित्र सबै वक्यौता तिर्ने वचन उक्त कम्पनीले दिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित रू. ४ करोड वक्यौता रकम तिर्नुपर्नेछ । करिब रू. १ करोड तिरिसकेको उक्त कम्पनीले नयाँ व्यवस्थापनका साथ सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने भएको छ ।
सौर्यले आगामी वैशाखभित्रै नयाँ जहाज भित्र्याउने तयारी पनि गरेको छ । उक्त एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सीआरजे २०० सिरिजको जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।
हाल सौर्यले विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ । यो कम्पनीसँग अहिले दुई बम्बार्डिएर जहाज छन् । सौर्यले अबको ६ महीनाभित्र तीन एटीआर जहाज भित्र्याउने योजना बनाएको छ ।
आर्थिक संकटमा परेको सौर्य एयरलाइन्सलाई केही साताअघि मात्र भारतीय लगानीकर्ता कुवेर समूहले रू. ६३ करोडमा खरीद गरेको हो । उक्त समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरीद गरेको बताएको छ ।